Friday, 31 December 2010

उपाध्यक्ष बाबुराम भट्टराईमाथि अनुशासनको कारबाही


काठमाडौ, पुस १६ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अर्का उपाध्यक्ष बाबुराम भट्टराईमाथि अनुशासनको कारबाही नहुने बताएका छन्  । छापाहरुमा स्थायी समितिको बैठकमा भट्टराईलाई कारवाहीको प्रस्ताव गरिएको समाचार आएको थियो ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रेष्ठले बाहिर आएको हल्ला जस्तो उपाध्यक्ष भट्टराईलाई कारवाही गर्न पार्टीले बैठक नबोलाएको दावी गरे । उनले भने, 'पार्टीभित्र धेरै विचार हुन्छन्, कसैलाई भिन्न विचार राखेकै आधारमा कहिल्यै कारबाही हुँदैन ।'

बैठकले कसैलाई कारबाही गर्न भन्दा पनि पार्टीलाई कसरी  ब्यवस्थित बनाउने भन्ने विषयलाई लिएर बोलाएको उनले बताए ।

सरकारले सहमतिलाई लम्ब्याएर संसदको अधिवेशन बोलाएको उल्लेख गर्दै श्रेष्ठले  अब बस्ने संसदबाटै मुलुकले नयाँ सरकार पाउनु पर्ने बताए ।

उनले भने, 'मुलुकलाई अझै अनिर्णयको बन्दीमा राख्न हुँदैन । हाम्रो पार्टी सबै विकल्पमा खुल्ला छ ।'
उनले संविधान सभाको सबैभन्दा ठूलो दल र शान्ति प्रक्रियाको आधा हिस्सा भएको नाताले माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्नु पहिलो र उपयुक्त विकल्प भएको बताए । श्रेष्ठले एमाले र कांग्रेस लगायतका दलहरुले मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको समेत  स्पष्ट पारे ।

कोइराला परिवारको छोरी-ज्वाइ भएकै कारण पूर्व युवराज पारस शाहले उनीमाथि गोली चलाए


इनरुवा, पुस १६ - कांग्रेस  नेता कृष्णप्रसाद सिटौलाले रुवेल चौधरी  कोइराला परिवारको छोरी-ज्वाइ भएकै कारण पूर्व युवराज पारस शाहले उनीमाथि गोली चलाएको दावी गरेका छन् ।
गिरिजाप्रसाद कोइरालाले राजतन्त्रको समाप्त गरी गणतन्त्र स्थापना गरेको झोंकमा रक्सी खाएर पारसले गोली चलाएको सिटौलाले ठोकुवा गरे ।
३५ औं  मेलमिलाप दिवसका अवसरमा शुक्रबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित कार्यक्रममा सिटौलाले भने, ' पारसले  रक्सी खाएपछि राजतन्त्र समाप्त गर्नेको खानदान भनेर रुवेलमाथी गोली चलाए ।'
चितवनमा भएको घटना कहाली लाग्दो भएको भन्दै उनले रुवेल विदेशी भएपनि उसको सुरक्षा हुनुपर्नेमा जोड दिए । 'कसका छोरी कहाँ बिहे गरेको हो भन्ने कुरा महत्व राख्दैन' उनले थपे, 'नेपालको माटोमा रुवेलको सुरक्षा हुनुपर्छ ।'
पुर्व गहृमन्त्री समेत रहेका सिटौलाले राजपरिवार भित्र अबैध हतियारहरुको अखडा भएकै कारण दरबार हत्याकाण्ड भएको ठोकुवा गरे । 'अबैध हातहतियारकै कारण दरबार हत्याकाण्ड भएर विरेन्द्रको वंशनास भयो' उनले भने, 'अहिले ज्ञानेन्द्र र उसको परिवार भित्र पनि अबैध हतियारहरु छन,  जसले उनीहरु बितण्डा मच्चाइरहेका छन् ।'   

माओवादीको बठ्याईका कारण मुलुकको राष्ट्रिय अस्तित्व समाप्ति


विराटनगर, पुस १६ - कांग्रेस सभापति सुशिल कोइरालाले माओवादीको बठ्याईका कारण मुलुकको राष्ट्रिय अस्तित्व समाप्ति उन्मुख भएको वताएका छन् । शान्ति प्रक्रियालाई टुङगोमा पुर्‍याएर तोकिएको समयमा संविधान जारी नगरिए राष्ट्रिय अस्तित्व समाप्त हुने उनको चेतावनी थियो ।
३५ औं राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा मोरङ कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमको शुक्रवार उद्‌घाटन गर्दै सभापति कोइरालाले शान्ति प्रक्रिया र संविधान निर्माणको विकल्प नरहेको पनि बताए । वर्तमान राजनीतिक संकट कायमै रहे मुलुक चाँडै अफगानिस्तान हालतमा परिणत हुने कोइरालाको चेतावनी थियो ।
मुलुकलाई अफगानिस्तानमा परिणत हुन नदिन र राष्ट्रिय अस्तित्व बचाउन कांग्रेसले माओवादीसँग एकता र सहकार्यका लागि वार्ता सुरु गरेको कोइरालाले वताए ।
'माओवादीसंग एकता र सहकार्यमा आउनुको विकल्प छैन' उनले भने, 'यस मुल मन्त्रलाई छाडेर उनीहरु जाने ठाउँ कही पनि छैन ।' उनले माओवादीलाई हावाको झोकाको संज्ञा दिए । साथै हावाको झोंका विलाएर जाने बताए । उनले भने 'शान्ति प्रक्रिया र संविधान निर्माण कार्यवाट भागेर फेरी जङगल पस्ने कल्पना स्वयं माओवादीहरु पनि गर्न सक्तैनन् ।' उनले माओवादीको झुटको खेती र राजनीतिक वेइमानीका कारण मुलुक संकटमा परेको आरोप लगाए ।
 

KANTIPUR NEWS



KANTIPUR NEWS