Friday, 31 December 2010

उपाध्यक्ष बाबुराम भट्टराईमाथि अनुशासनको कारबाही


काठमाडौ, पुस १६ - माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अर्का उपाध्यक्ष बाबुराम भट्टराईमाथि अनुशासनको कारबाही नहुने बताएका छन्  । छापाहरुमा स्थायी समितिको बैठकमा भट्टराईलाई कारवाहीको प्रस्ताव गरिएको समाचार आएको थियो ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा श्रेष्ठले बाहिर आएको हल्ला जस्तो उपाध्यक्ष भट्टराईलाई कारवाही गर्न पार्टीले बैठक नबोलाएको दावी गरे । उनले भने, 'पार्टीभित्र धेरै विचार हुन्छन्, कसैलाई भिन्न विचार राखेकै आधारमा कहिल्यै कारबाही हुँदैन ।'

बैठकले कसैलाई कारबाही गर्न भन्दा पनि पार्टीलाई कसरी  ब्यवस्थित बनाउने भन्ने विषयलाई लिएर बोलाएको उनले बताए ।

सरकारले सहमतिलाई लम्ब्याएर संसदको अधिवेशन बोलाएको उल्लेख गर्दै श्रेष्ठले  अब बस्ने संसदबाटै मुलुकले नयाँ सरकार पाउनु पर्ने बताए ।

उनले भने, 'मुलुकलाई अझै अनिर्णयको बन्दीमा राख्न हुँदैन । हाम्रो पार्टी सबै विकल्पमा खुल्ला छ ।'
उनले संविधान सभाको सबैभन्दा ठूलो दल र शान्ति प्रक्रियाको आधा हिस्सा भएको नाताले माओवादीकै नेतृत्वमा राष्ट्रिय सरकार निर्माण गर्नु पहिलो र उपयुक्त विकल्प भएको बताए । श्रेष्ठले एमाले र कांग्रेस लगायतका दलहरुले मिलेर सरकार बनाए आफूहरु प्रतिपक्षमा बस्न तयार रहेको समेत  स्पष्ट पारे ।

No comments:

Post a Comment